पाल्पाको लाखेमा रमाए पोखरेली
पाेखरा | साउन २७, २०८२
पोखरा: पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा प्रदर्शन गरिएको छ । सिटिजन फर्निचर आयोजना एवं पाल्पाली समाजको व्यवस्थापनमा सोमबार राति न्यूरोडस्थित सिटिजन फर्निचर अगाडि प्रदर्शन गरिएको हो ।
करिब ४ घण्टासम्म चलेको नाच हेर्न दर्शकको ठूलो संख्यामा उपस्थिति थियो । विभिन्न भेषभूषामा सजिएका लाखे र भुच्चाको हाउभाउ कलात्मक थियो । लगातार बाजाको तालमा उनीहरु असिनपसिन भइ नाचेका थिए ।
पाल्पा र पोखराबीच कला, संस्कृतिको आदानप्रदान गर्ने उद्देश्यले गत वर्ष झैं यसपालि पनि सो कार्यक्रम गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताए । उनले आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
पाल्पा रिब्दीकोट गाउँपालिका वडा ४, भैरवस्थान हटियाबाट सुनिल प्रधानको नेतृत्वमा करिब ४५ सदस्यीय टोली गाडी रिभर्ज गरी पोखरा आएको थियो । यसप्रकारको नाच यसअघि काठमाडौं, चितवन, भैरहवा, बुटवल, नेपालगञ्ज, दाङलगायतका सहरमा पनि प्रदर्शन भइसकेको राजकुमार रणपालले बताए । यस वर्ष भने पाल्पा भैरव लाखे समूह नाच देखाउन पोखराबाहेक अन्य सहर गएन ।
गाँठेमंगलदेखि कुखुराको भालेलाई बली दिई पूजाआजा गरी सुरु हुने नाच कृष्णजन्माष्टमी पर्वसम्म चल्ने गर्छ । पाल्पालीहरु ५ सय वर्ष पुरानो इतिहास बोकेको यो नाच जोगाउन लागिपरेका छन् ।
पाल्पाली राजा मणिमुकुन्द सेनले राज्य बिस्तारक्रममा काठमाडौं आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किंबदन्ती छ । उनले युद्ध जितेपश्चात् मछिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्तिलगायत केही कलासंस्कृति एवं काष्ठकलामा निपूर्ण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर आएका थिए ।
पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले पोखरामा पाल्पाको लाखे नचाउँदा आपसमा संस्कृति आदानप्रदानसँगै पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने बताए । कार्यक्रमका लागि पाल्पाली समाज पोखरासहित पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पा कोलोनीसमेतले व्यवस्थापनमा सघाएका हुन् । कार्यक्रम संचालन पाल्पाली समाज पोखराका प्रथम उपाध्यक्ष केशव नेपालले गरेका थिए ।
दर्शकलाई पाल्पाको भैरवस्थान मन्दिरको रोट, टीका, प्रसादसहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिएको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

